दफा ४६
दायित्वको परिपालनसम्बन्धी व्यवस्थाहरु
(१) धितोसम्बन्धी सम्झौताका पक्षहरुले आपसी सहमतिद्वारा दायित्व परिपालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्ने छन् ।
(२) दायित्व परिपालन नभएमा धितो लिने व्यक्तिलाई देहायबमोजिमको अधिकार हुनेछः–
(क) धितोसम्बन्धी सम्झौतामा कब्जा वा नियन्त्रणका बारेमा कुनै पनि व्यवस्था नरहेको भए तापनि धितो लिने व्यक्तिले आफ्नो इच्छा अनुसार धितोको सम्पत्ति आफ्नो कब्जा वा नियन्त्रणमा लिन सक्ने,
(ख) धितोको सम्पत्ति बेचबिखन गर्ने,
(ग) यस ऐनमा व्यवस्था गरिएका अन्य अधिकार तथा उपचार प्रयोग गर्ने,
(घ) धितोसम्बन्धी सम्झौतामा व्यवस्था गरिएका अन्य अधिकार तथा उपचार प्रयोग गर्ने, र
(ङ) अन्य प्रचलित कानूनअन्तर्गत उपलव्ध अधिकार तथा उपचार प्रयोग गर्ने ।
(३) धितो लिने व्यक्तिले आपूmलाई उपलब्ध कुनै वा सबै अधिकारहरु एकसाथ प्रयोग गर्न सक्नेछ ।
(४) दायित्व परिपालन नभएको अवस्थामा धितोको सम्पत्ति, बहीखाता वा अन्य अमूर्त सम्पत्ति भएमा धितो लिने व्यक्तिले हस्तान्तरण वा सङ्कलनसम्बन्धी अधिकारको प्रयोग गर्ने सम्बन्धमा यस ऐनमा गरिएका व्यवस्थाको अधीनमा रही न्यायिक कारबाहीबिना सिधै त्यस्ता बहीखाता वा अन्य मूर्त सम्पत्तिका सम्बन्धमा आफैले आवश्यक कारबाई चलाउन सक्नेछ ।
(५) दायित्व परिपालन नभएको अवस्थामा धितोको सम्पत्ति लिखत भएमा धितो लिने व्यक्तिले त्यस्तो लिखत तथा सो लिखतबाट समेटिएका मालसामानका सम्बन्धमा आवश्यक कारबाई चलाउन सक्नेछ ।
(६) धितो लिने व्यक्तिले कब्जा गर्न पाउने आदेश प्राप्त गरेमा सूचना दर्ता गरेको मिति वा धितोको हक परिपक्व भएको मितिमध्ये जुन पहिले हुन्छ सो मिति देखि धितोको सम्पत्तिउपरको प्राथमिकताको गणना गरिनेछ ।
(७) अधिकारप्राप्त अधिकारीको आदेशबमोजिम वा सार्वजनिक लिलामको माध्यमबाट धितोको सम्पत्ति बिक्री गर्दा धितो लिने व्यक्तिले त्यस्तो धितोको सम्पत्ति खरीद गरी लिन सक्नेछ ।